मकवानपुरको उत्तरी क्षेत्रको किबीले आम्दानी दिन थाल्यो

तामसालिङ खबर
३० आश्विन २०७६, बिहीबार ११:४४

असोज ३०, हेटौंडा – सुरु-सुरुमा किबी खेती गर्दा गाउँकाले मात्र होइन, घरकाले पनि उनलाई गाली गर्थ्ये । तर अहिले भने सबैले उनलाई स्याबासी दिन थालेका छन् । मकवानपुरको उत्तरी क्षेत्रमा पर्ने थाहा नगरको मनोरथ बलामीले किबी खेती गरेर यो वर्ष १० लाख रुपैयाँभन्दा बढी आम्दानी गर्न सक्ने अवस्थामा पुगेका छन् ।

काठमाडौंमा उनले अहिले होलसेलमा किबी प्रतिकेजी २ सय ५० रुपैयाँमा बिक्री गर्ने गरेका छन् । मनोरथले १३ वर्षअघिदेखि किबी खेती गर्न सुरु गरेका थिए । पहिलो वर्षमा १५ वटा बिरुवा रोपेर सुरु गरेको मनोरथसँग अहिले १ सय ८० वटा किबीका रुखहरू छन् । तीमध्ये २० वटा भाले जातका किबीका बोट छन् ।

ती सबैले उत्पादन दिन थालिसकेका छन् । ‘सुरु-सुरुमा बजारको पनि समस्या थियो,’ बलामीले भने, ‘अहिले समस्या छैन, काठमाडौं लगेपछि बिक्री भइहाल्छ ।’ स्थानीय महोत्सवहरूमा पनि बलामीले किबी बिक्रीका लागि राख्ने गरेका छन् । आकर्षक ढंगले प्याकिङ गरेर बिक्री गर्ने गरेका छन् ।

बलामीले काभ्रेबाट बिरुवा ल्याएर रोपेका हुन् । एउटा बिरुवाको मूल्य ३ सय रुपैयाँ परेको थियो । बलामीको करिब ७ रोपनी जमिन किबीको बोटले ढाकेको छ । किबी खेती बज्रबाराहीमा बलामीले मात्र गरेका छैनन् । करिब ६० परिवारले गरेका छन् । विगत १४ वर्षदेखि थाहा नपा ६ बज्रबाराहीका फणिन्द्र सुवेदीले पनि किबी खेती गरेका छन् ।

उनीसँग चार सयवटा वटा किबीको बोट छन् । तीमध्ये २ सय वटाले उत्पादन गर्न थालेका छन् । उनले यो वर्ष करिब १२ लाख रुपैयाँको किबी बिक्री गर्ने अनुमान गरेका छन् । ‘अव धमाधम किबी टिपेर बिक्री गर्ने अवस्थामा भइसकेको छ,’ कृषक फणिन्द्रले भने, ‘गत वर्षको भन्दा यो वर्ष राम्रोसँग फलेको छ ।’

उनले करिब ६ हजार केजी किबी उत्पादन हुने अनुमान गरेका छन् । किबी खेतीका लागि सुवेदी पनि अगुवा कृषक हुन । ‘व्यवस्थितसँग कृषक सुवेदी र बलामीले किबी खेती गरेका छन्,’ थाहा नगरपालिकाका कृषि शाखा प्रमुख सञ्जय तिवारीले भने, ‘बज्रबाराही किबी खेतीका लागि पकेट क्षेत्र जस्तो भइसकेको छ ।’

बलामी र सुवेदीलाई मृग र मलसाप्रोबाट किबीको फल जोगाउन मुस्किल परेको छ । मृग र मलसाप्रोले किबीको फल खान रुचाउँछ । सुवेदीले २० रोपनी जग्गामा किबी खेती गरेका छन् । किबी खेतीमा प्रांगारिक मल मात्र प्रयोग गरिन्छ ।

बलामी र सुवेदीले सुरुमा किबी खेती गर्न काभ्रे र गोदावरीबाट किबीका बिरुवा खरिद गरेर ल्याएका थिए । सुवेदीले किबीको नर्सरी आफैंले राखेका छन् । किबीको बेर्ना खरिद गर्न इलाम, संखुवासभा लगायत विभिन्न स्थानबाट आउने गरेका छन् । किबीको एउटा बेर्ना तीन सय रुपैयाँमा बिक्री गर्ने गरेका छन् । कान्तिपुर दैनिकमा प्रताप विष्टले लेखेको समाचार साभार।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*