युरोकप छनोटमा फ्रान्स र टर्कीको जित
एजेन्सी – विश्वकप विजेता फ्रान्स र टर्कीले युरो कप छनोट फुटबलमा कठिन जित हात पारेका छन् । समूह ‘एच’ अन्तर्गत शुक्रबार राति भएको खेलमा फ्रान्सले आइसल्यान्डलाई १–० गोलले हरायो । टर्कीले अल्बानियालाई १–० गोललेनै पराजित गर्यो ।
आइसल्यान्डको घरेलु मैदानमा भएको प्रतिस्पर्धात्मक खेलमा फ्रान्सलाई जिताउन ओलिभर गिरोडले ६६औं मिनेटमा पेनाल्टीमार्फत निर्णायक गोल गरेका थिए । फ्रान्सका लागि ओलिभरको यो ३७ औं गोल हो ।
यसैगरी टर्कीको जितमा सेन्क टोसुनले खेलको अन्तिम समयमा निर्णायक गोल गरे । टोसुनले इन्जुरी समयमा गोलगर्दै टर्कीको जित सुनिश्चित पारेका थिए ।
अर्को खेलमा एन्डोराले मोल्डोभालाई १–० गोलले हराएको छ । एन्डोराको जितमा मार्क भालेसले ६३औं मिनेटमा गोल गरेका थिए । जितसँगै समूह ‘एच’ बाट फ्रान्स र टर्कीले युरो कपमा छनोट हुने सम्भावना बलियो बनाएका छन् । फ्रान्स र टर्कीले सातखेलबाट समान खेलबाट १८ अंक बनाएका छन् ।
गोल अन्तरका आधारमा टर्की शीर्ष र फ्रान्स दोस्रो स्थानमा छ । १२ अंक बनाएको आइसल्यान्ड तेस्रो स्थानमा छ । नौ अंक बनाएका अल्बानिया चौथो तथा समान तीन तीन अंक बनाएका एन्डोरा र मोल्डोभा क्रमशः चौथो र पाँचौं स्थानमा छन् ।