विद्युत प्राधिकरण हेटौंडाले गल्ती स्वीकार्यो, चार दिनपछि परिवारले शब बुझे

सरिता दाहाल
२३ आश्विन २०७६, बिहीबार ०९:२६

असोज २३, हेटौंडा – गत असोज १९ गते आफ्नो बारिमा घाँस काटेर फर्कदै गर्दा करेन्ट लागेर मृत्यु भएका आमाछोराको शब परिवारले जिम्मा लिएको छ । नेपाल बिद्युत प्राधिकरणको गम्भीर लापरबाहीका कारण उनीहरूको मृत्यु भएकोभन्दै परिवारले क्षेतिपूर्तिको माग गर्दै शव बुझ्न मानेको थिएन । जिल्ला प्रशासन कार्यालय मकवानपुरमा भएको सहमति पछि परिवारले शब बुझेको मृतकका आफन्त कृष्णप्रसाद पराजुलले बताए।

मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१७ राजदेवीमा करेन्ट लागेर आमा छोराको मृत्यु भएको थियो। ५५ वर्षीया लेखमाया पराजुली (आमा) र उनका २८ वर्षीय छोरा मदन पराजुलीको मृत्यु भएको थियो। बुहारी रेणुका पराजुली घाइते भएकी थिइन्।

घटनापछि मृतकको शव बुझ्न अस्विकार गरेका स्थानीय, आफन्त र प्राधिकरणबीच भएको छलफलमा प्राधिकरणले आफ्नो गल्तीका कारण मृत्यु भएको स्वीकारेको मृतकका आफन्त कृष्णप्रसाद पराजुलीले जानकारी दिए। जिल्ला प्रशासन कार्यालयमा भएको छलफलमा प्राधिकरणले गल्ती स्वीकार्दै प्रचलित कानुन अनुसार राहत उपलब्ध उपलग्ध गराउने, किरिया खर्च उपलब्ध गराउनेलगायतका सहमति भएको छ। प्राधिकरणले आगामी दिनमा यस्तो गल्ती नदोहोरिने प्रतिबद्धता समेत जनाएको छ।

प्राधिकरणको यस्तो थियो लापरबाही
गत शनिबार दिउँसो पानी परिरहेको अवस्थामा सिँचाइका लागि लागेको थ्रि फेज लाइनको तार झरेर आगो बलेको थियो। स्थानीयले तारमा आगो बलेको देखेपछि आ-आफ्नो घरको मेन स्वीच अफ गरे, तत्काल प्राधिकरलाई घटनाबारे जानकारी दिए। तर, प्राधिकरणले वास्ता गरेन।

दसैंमा परिवारसँग घुमफिर गर्न ऎतिहासिक मकवानपुर गढी जाने तयारीमा पराजुलीको परिवार बिहानै घाँसको जोहो गर्न बारीमा गयो।

सासुबुहारी अलि घुमाउरो बाटो हुँदै वारि पुगेका थिए। २ जनाले ३ भारी घाँस काटे। छोरा मदनलाई एउटा भारी बोक्न बोलाए। घाँसको भारी बोकेर आमा अघि लागिन भने छोरा र बुहारी उनको पछि लागे। भारी बोकेर किन घुमाउरो बाटो फर्कनु। उनिहरू छोटोबाट घर फर्कदै थिए।

अघिल्लो दिनदेखि तार भुइमा भएको बताउदापनी प्राधिकरणले करेन्ट छुटाएको थिएन, आमा लेखमायाको गोडामा त्यै तारले छोयो। आमा ढलिन्। बचाउन मदन गए। उनलाई पनि करेन्ट लाग्यो। फेरि बुहारी रेणुका गइन। उनलाई करेन्टले पर हुत्यात्यो। रुँदै कराउँदै १ किलोमिटर परको बस्ती आइपुगिन रेणुका। अनी स्थानीयले पटक/पटक फोन गरेपछि करेन्ट लागेको १७ मिनेटपछि मात्रै प्राधिकरणले लाइन काट्यो। त्यतिन्जेल दुबै आमाछोरालाई करेन्ट लागिरह्यो।

लाइन काट्दासम्म छोरा मदन अचेत भइसकेका थिए भने आमा थोरै होसमा थिइन्। सवारीको अभावमा अटोमा राखेर हेटौंडाको चुरेहिल अस्पताल ल्याइयो। तर, डाक्टरले मृत घोषित गरे। प्राधिकरण हेटौंडाको फ्यूज शाखाले फोन आउनासाथ लाइन काटेका भए दुबैको जीवन बच्न सक्ने सम्भावना पनि थियो।

‘प्राधिकरणकै लापरबाहीका कारण १४ महिनाको छोराले बाबु (मदन) गुमाए, २५ वर्षीया बुहारीको सिउँदो उजाडियो’, पराजुलिले भने, ‘यो गाउँमा अधिकांश पुराना काठका पोल छन्। ति पोलमा भुई नजिकसम्म तार झुण्डिएका छन्। तर, प्राधिकरणलाई पोल फेर्न र झुण्डिका तार मिलाउन आग्रह गरे पनि वेवास्ता गर्ने गरेको छ।’

प्राधिकरणबाट मिटर ल्याएको डेढ वर्षसम्म पनि मिटर जडान नहुने र घरलाई छुनै लागेको तार सार्न आग्रह गर्दासमेत प्राधिकरण हेटौंडा शाखाले वेवास्ता गर्ने गरेको उनीहरूको गुनासो छ। प्राधिकरणले धनजनको क्षेति नभएसम्म स्थानीयले गरेको गुनासोलाई बेवास्ता गरिरहेको स्थानीय उषा लुईटेलले बताइन्। नेपाल न्युजबाट ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*