तिन नम्बर प्रदेशका किसानले कृषि यन्त्र खरिदमा ७५ प्रतिशत अनुदान पाउने

तामसालिङ खबर
१६ आश्विन २०७६, बिहीबार १७:०९

असोज १६, हेटौंडा – तिन नम्बर प्रदेश सरकारले कृषि यान्त्रीकरण र मत्स्य विकास अनुदानको लागि चालु आर्थिक वर्षमा २५ करोड रुपैयाँ खर्च गर्ने भएको छ । सरकारले कृषि यन्त्र खरिदमा किसानलाई ७५ प्रतिशत अनुदान दिने भएको छ ।

कृषकलाई आवश्यक विभिन्न किसिमका साना तथा ठूला कृषि उपकरण खरिद गर्न अनुदान दिने गरी प्रदेशको भूमि, व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले योजना तयार गरी बजेट समेत बिनियोजन गरेको छ । करिब एक हजार वटा फर्म तथा व्यवसायिक किसानलाई अनुदान वितरण गर्ने गरी यन्त्र खरिदको लागि २० करोड रुपैयाँ छुट्याएको छ ।

छुट्याइएको रकम मध्येबाट सबै जिल्लाका व्यवसायिक किसानलाई कृषि यन्त्र खरिद गर्दा ७५ प्रतिशत अनुदान प्रदान गरिने मन्त्रालयले जनाएको छ । कृषि यन्त्र माग संकलनको सूचनासमेत निकालेर प्रदेशको कृषि विकास निर्देशनालयले कृषि यान्त्रीकरण अनुदान कार्यक्रम कार्यान्वयनसमेत सुरु गरिसकेको छ ।

पहिलो चरणमा फोर ह्वील ट्याक्टर, ढुवानी ट्रक, कम्बाइन्ड हार्भेष्टर, सिंगल क्याप पिकअप र लेजर ल्याण्ड लेभेलर यन्त्र लगायत उपकरण आवश्यक रहेको निजी, सहकारी तथा सामुहिक फार्म धनीले अनुदानको लागि आवेदन दिन सक्ने जनाइएको छ ।

मन्त्रालयले मत्स्य विकास यान्त्रीकरण पोखरीका लागि मागको आधारमा सबै जिल्लाका किसानलाई ७५ प्रतिशत अनुदान दिने व्यवस्था पनि गरेको छ । मन्त्रालयले मत्स्य पोखरी यान्त्रीकरण अनुदानको लागि पाँच करोड रुपैयाँ छुट्याएको मन्त्रालयका प्रवक्ता डा. शरणकुमार पाण्डेले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*