गण्डकी प्रदेशसभामा यातायात विधेयक पारित

तामसालिङ खबर
१५ आश्विन २०७६, बुधबार ०८:११

असोज १५, पोखरा – गण्डकी प्रदेशको मंगलबार भएको प्रदेशसभा बैठकले प्रदेश सवारी तथा यातायात सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक पारित गरेको छ ।

बैठकमा प्रदेशका भौतिक पूर्वाधार तथा विकासमन्त्री रामशरण बस्नेतले विधायन समितिको प्रतिवेदनसहित विधेयक पारित गरियोस् भन्दै गर्नुभएको प्रस्ताव सभाले सर्वसम्मत पारित गरेको हो ।

यसअघि विधेयकमाथिको छलफलमा बोल्दै प्रदेशसभा सदस्य मीना गुरुङ, विन्दुकुमार थापा, हरिशरण आचार्य र कृष्ण थापाले विधेयक प्रदेशमा यातायात सुसञ्चालन एवं व्यवस्थापनका लागि महत्वपूर्ण बन्ने विश्वास व्यक्त गर्नुभयो । पोखराको ट्राफिक व्यवस्थापन काठमाडौँको जस्तै बन्दै गएको प्रति चिन्ता व्यक्त गर्दै सदस्यहरूले यसतर्फ बेलैमा सचेत बन्नुपर्ने धारणा राख्नुभयो ।

बैठकमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशलाई राम्रो बनाउने जिम्मेवारी सत्तापक्ष, प्रतिपक्षलगायत सबैको भएको बताउँदै यसका लागि सामूहिक प्रयास आवश्यक हुनेमा जोड दिनुभयो ।

प्रदेशमा दक्ष जनशक्ति तयार गर्नका लागि विश्वविद्यालय ऐन, दक्ष जनशक्ति छनोट गर्ने गरी लोकसेवा आयोग ऐन, यातायात सुव्यवस्थाका लागि यातायात ऐनजस्ता महत्वपूर्ण ऐन तथा कानून यस अवधिमा निर्माण गरिएको उहाँले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*