साँझै देखि बन्द हुन थाले, एटीएम काउन्टर
असोज १४, काठमाडौं – सबै एटीएम बुथमा सुरक्षा गार्ड राख्ने राष्ट्र बैंकको निर्देशन पछि एटीएम काउन्टरहरु साँझ देखि नै बन्द हुन थालेका छन् ।
नेपाल राष्ट्र बैंकले केही दिन अघि मात्रै बैंक तथा वित्तीय संस्थाहरुलाई एटीएम मेसिनमा चौबिसै घण्टा हतियार सहित सुरक्षा गार्ड राख्न निर्देशन दिए सँगै बैंक तथा वित्तीय संस्थाले आफूले प्रदान गर्दै आएको सेवाको समय घटाउन थालेका हुन् ।
अहिले उपत्यका र बाहिरका कम चहल पहल हुने ठाउँहरुमा सञ्चालित एटीएम काउन्टरहरु बैंकहरुले साँझ पर्ने बित्तिकै बन्द गर्न थालेका छन् । कतिपय बैंकहरुले त कार्यालय समय सकिए पछि बैंकिङ काउन्टर सँगै एटीएम काउन्टर समेत बन्द गर्न थालेको बताइएको छ । यसअघि खुला रहने व्यस्त ठाउँका एटीएमहरु समेत रातको समयमा एटीएम काउन्टरहरु बन्द गर्न थालिएकाे छ ।
बैंकहरु भने तीन सिफ्टमा २४ सै घण्टा सुरक्षा गार्ड राखेर निःशुल्क सेवा चलाउन नसकिने भन्दै राष्ट्र बैंकको निर्देशनपछि बैंकहरुले एटीएम सेवा नै बन्द गर्नुपर्ने अवस्था आएको बताउँछन् । त्यसाे त उनीहरु सुरक्षा गार्ड राखेकै भरमा पनि यस्तो लुट अन्त्य हुनेमा विश्वस्त छैनन् । ‘कसैले मेरो पैसा म झिक्छु भन्यो भने हतियारसहितको सुरक्षाकर्मीले चाहिँ के गर्ने ?’ एकजना बैंकरले भने ।
नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले पनि यो अवस्थामा बैंकहरुका लागि राम्रो भनेको कार्यालय समयमा मात्रै एटीएम खोल्नु नै उपयुक्त हुने बताउँछन् । नियामकले दिएको निर्देशन आफूहरुले मान्नुपर्ने भए पनि त्यो मान्न नसेकेको अवस्थामा सेवा बन्द गर्ने विकल्प भएको उनको तर्क छ ।
चिनियाँ ह्याकरहरुले एटीएम ह्याक गरी करोडौं रकम लुटेको र केही दिन अघि मात्रै कृषि विकास बैंकमा भएको लुट काण्ड समेत एटीएम मेसिनकै प्रयोग गरेर भएपछि राष्ट्र बैंकले एक साता अघि मात्रै त्यस्ता मेसिनहरुमा हतियारसहितको सुरक्षा गार्ड राख्नुपर्ने व्यवस्था गरेको थियो । तर यसमा बैंकरहरुले भने राष्ट्र बैंकको यो निर्देशनको घुमाउरो ढंगले असहमति जनाउँदै आएका छन् ।
नेपाल राष्ट्र बैंकले खुला भएको भने पनि अझै पनि एउटा बैंकको रकम अर्को बैंकबाट झिक्न पाउने अवस्था विश्वस्त अवस्था छैन । अर्कोतर्फ एटीएम काउन्टर नै बन्द गर्न थालेपछि बचतकर्ताहरु दैनिक खर्च टार्ने रकम खल्तीमै होल्ड गर्न थालेका हुन् । यसले दशैंको समयमा थप अप्ठ्यारो पार्नसक्ने र दीर्घकालसम्म यस्तै अवस्था हुने हो भने बैंकिङ तरलतालाई समेत यसले प्रभाव पार्ने बैंकिङ क्षेत्रका सरोकारवालाहरु नै बताउँछन् । #बिकास_न्युज_डटकम